अनलाइन प्रज्ञा शब्दकोश


नेपाल प्रज्ञा प्रतिष्ठानले युनेस्को पेरिसको सहयोगमा तयार पार्न गइरहेको अनलाइन प्रज्ञा शब्दकोश आगामी डिसेम्बर महिनाको अन्त्यमा तयार गरि प्रचलनमा ल्याउने छ। नेपाल प्रज्ञा प्रतिष्ठानले अनलाइन प्रज्ञा शब्दकोश निर्माण गर्ने जिम्मा अनलिमिटेड नुमिडिया प्रा.लि. लाई सुम्पेको छ। अनलाइन प्रज्ञा शब्दकोश हाल दुई भाषा जस्तै नेपाली-नेपाली, नेपाली-अङ्ग्रेजी र अङ्ग्रेजी-नेपालीमा उपलब्ध हुनेछ। यो शब्दकोश इन्टरनेटमा अनलाइन, सिडी तथा माइक्रोसफ्ट अफिसका विभिन्न अनुप्रयोगहरूमा उपलब्ध गराइने छ। अनलाइन प्रज्ञा शब्दकोशलाई www.shabdakosh.org.np बाट निःशुल्क डाउनलोड गर्न सकिनेछ। यस शब्दकोश विकासको परियोजनामा सम्मिलित संस्थाहरूको संक्षिप्त पृष्ठभूमि निम्न अनुसार छन्।

Expand नेपाल प्रज्ञा-प्रतिष्ठान
नेपाल प्रज्ञा-प्रतिष्ठान

नेपाल प्रज्ञा-प्रतिष्‍ठान नेपालका भाषा, साहित्य, कला-कौशल, सङ्गीत-नाट्य र संस्कृति तथा सामाजिक शास्त्र सम्बन्धी अध्ययन, अन्वेषण एवं मौलिक सृजना, राष्‍ट्रका विद्वान् एवं प्रतिभाहरूको सम्मान, सृजनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सहभागिता र अभिरुचिको संवर्धनसहित बौद्धिक तथा सांस्कृतिक क्षेत्रको सर्वाङ्गीण विकासका निम्ति राष्‍ट्रिय एवं अन्तर्राष्‍ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालनका लागि स्थापित एक प्रतिष्‍ठित राष्‍ट्रिय संस्था हो। यसमा हाल भाषा-साहित्य, संस्कृति तथा सामाजिक शास्त्र, नाट्य-सङ्गीत र कला-कौशल गरि चार विभाग छन्। यसको उद्देश्य नेपालको राष्‍ट्रभाषा नेपाली, नेपालका राष्‍ट्रिय भाषाहरू, साहित्य, कला, कौशल, सङ्गीत, नाट्य, संस्कृति र सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयको अध्ययन, अन्वेषण एवं मौलिक सिर्जनाका माध्यमद्वारा उपयोगी कृतिहरू तयार गर्ने, गराउने तथा यस क्षेत्रका विद्वान् एवं प्रतिभाहरूको समुचित कदर एवं सम्मान गर्ने र उपयुक्त विषयसम्बन्धी आवश्यक अन्य कार्य राष्‍ट्रिय एवं अन्तर्राष्‍ट्रिय स्तरमा सम्पन्न गराई तथा सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सहभागिता र अभिरुचि बढाई बौद्धिक तथा सांस्कृतिक क्षेत्रको सर्वाङ्गीण विकास गर्ने हो।

Expand युनेस्कोको लागी नेपाल राष्ट्रिय आयोग
युनेस्कोको लागी नेपाल राष्ट्रिय आयोग

युनेस्को शान्तिपूर्ण सह-अस्तित्वको मार्ग अपनाई राष्‍ट्र-राष्‍ट्रका बीच सहयोग, सद्‍भाव र भातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थापना भएको “संयुक्त राष्‍ट्र सङ्घ” को संस्था हो। नेपाल यसको सदस्य भएको हुनाले यहाँ पनि यो संस्थाले शिक्षा, विज्ञान, संस्कृति सम्बन्धी सहकार्य गर्ने उद्देश्यले सङ्गठन खडा गरेको छ। यस संस्थाका प्रत्येक सदस्य राष्‍ट्रहरूमा गठन हुने राष्‍ट्रिय आयोगहरूको कार्य बढी प्रभावकारी बनाउन युनेस्कोको लागि राष्‍ट्रिय आयोगको बडापत्र बमोजिम नेपालमा पनि शिक्षा, विज्ञान र संस्कृतिको विकास गर्न तथा युनेस्को बीच भईरहेको पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने कार्य गर्दै आएको छ। यसले आम संचारका क्षेत्रहरूमा नेपाल सरकारलाई सल्लाह दिने जस्ता कार्य गर्दछन्। अनलाइन प्रज्ञा शब्दकोष पनि यही सम्बन्ध को एक साधारण उपज हो। यसले पारित गरेको कार्यक्रमलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न गराउनका लगि राष्ट्रिय स्तरमा एक समिति बनाई, जसमा युनेस्को आफैले महत्वपूर्ण भूमिका निभाइ यसको मुनि रहेको व्यवस्थापन समिति तथा प्राविधिक समितिलाई नियन्त्रण तथा निरीक्षण गर्नेछ।

Expand अनलिमिटेड नुमिडिया प्रा. लि.
अनलिमिटेड नुमिडिया

अनलिमिटेड नुमिडिया प्रा. लि. गत पन्ध्र वर्ष देखी सूचना प्रविधिको क्षेत्रको विकास तथा प्रवर्धनमा अग्रसर भइ प्रख्यात रूपमा नाम कमाउँदै आएको छ। यसले नेपालमा पहिलो पटक नेपाली फन्टको विकास गरि कम्प्युटरलाई नेपाली अक्षर चिनाएको थियो। यसै गरि यसले विभिन्न वैदेशिक संस्थाहरूको निमित्त सफ्टवेयरको विकासका साथै विश्वमै चित परिचित संस्था माइक्रोसफ्ट कर्पोरेसनका लागि नेपालीमा माइक्रोसफ्ट विन्डोज तथा माइक्रोसफ्ट अफिसको विकास गर्दै आएको छ। यसले यस्तै नयाँ नौँला प्रविधिको विकासका साथै सफ्टवेयरको बिक्री वितरणमा समेत नेपाल अधिराज्यभर नाम कमाएको छ।

Copyright © 2007 Nepal Academy. All Rights Reserved.